२०८१ चैत ८ – काठमाडौँमा सार्वजनिक सवारी साधनमा पाकेटमारी तथा चोरी गर्ने ७ जना पक्राउ परेका छन्। उनीहरूबाट २७१ थान मोबाइल, १५ थान ल्यापटप र ९ थान ट्याब बरामद गरिएको छ।
काठमाडौं प्रहरी परिसरका अनुसार पक्राउ पर्नेहरूमा:
1. प्रमोद परियार (३५ वर्ष) – काभ्रेको बेथानचोक गाउँपालिका-५ स्थायी घर भई ललितपुरको सानागाउँ बसोबास।
2. गुनराज न्यौपाने (२६ वर्ष) – खानीखोला गाउँपालिका-५ स्थायी घर भई भक्तपुरको ठिमी बसोबास।
3. हेमन्त राना मगर (३० वर्ष) – रौतहटको चन्द्रनिगाहपुर स्थायी घर भई भक्तपुर ठिमी बसोबास।
4. शम्भु विश्वकर्मा (२८ वर्ष) – दोलखाको सैलुङ गाउँपालिका-६ स्थायी घर भई भक्तपुर जगाती बसोबास।
5. राजेश चालिसे (२२ वर्ष) – सिन्धुपाल्चोक मेलम्ची नपा-११ स्थायी घर भई भक्तपुर गठ्ठाघर बसोबास।
6. सबिन पाण्डे (२१ वर्ष) – दोलखाको कालिन्चोक गाउँपालिका-५ स्थायी घर भई काठमाडौं चावहिल बसोबास।
7. प्रकाश कट्वाल (२० वर्ष) – काठमाडौं सिनामंगल स्थायी घर भई भक्तपुर ठिमी बसोबास।
चोरीपछि मोबाइल बिक्री गर्ने पसल सञ्चालक पनि पक्राउ
चैत ७ गते साँझ ६ बजे ठिमीबाट कोटेश्वर आउँदै गरेको सार्वजनिक गाडीमा एक व्यक्तिले पाकेटमारी गरी भागेको सूचना प्राप्त भएपछि प्रहरी तत्काल सक्रिय भएको थियो। अनुसन्धानकै क्रममा गिरोह नै पक्राउ परेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए।
प्रहरीका अनुसार गिरोहले चोरी गरेका मोबाइल भक्तपुरको जगातीस्थित ‘सरोज मोबाइल रिपेयरिङ सेन्टर’ मा बेच्दै आएको खुल्न आएको छ। उक्त पसलका सञ्चालकलाई पनि प्रहरीले हिरासतमा लिएको छ।
हाल पक्राउ परेका सबैलाई काठमाडौं प्रहरी परिसरले हिरासतमा राखी थप अनुसन्धान गरिरहेको छ