वीरगञ्ज । वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतगणना विवादका कारण स्थगित भएको छ । मतपेटिकामा लगाइएको सिल नम्बर परिवर्तन भएको भेटिएपछि उम्मेदवार र विद्यार्थी सङ्गठनहरूले विरोध जनाएका छन् ।
विवाद चर्किँदै गएपछि बिहीबार क्याम्पसको मूल गेट अगाडि स्ववियु उम्मेदवार, विभिन्न विद्यार्थी सङ्गठन र समर्थकहरूले टायर बालेर प्रदर्शन सुरु गरेका छन् । क्याम्पस प्रमुख, निर्वाचन अधिकृत र प्रहरीविरुद्ध नाराबाजी गर्दै उनीहरूले विरोध प्रदर्शन तीव्र पारेका छन् ।
मतदान स्थलमा सात नम्बर मतपेटिकाको सिल नम्बर परिवर्तन भएको भेटिएपछि मतगणना स्थलमा रहेका उम्मेदवार प्रतिनिधिहरूले आपत्ति जनाएका थिए । समाजवादी विद्यार्थी युनियनका जिल्ला अध्यक्ष हरेन्द्र साहले मतपेटिकाको सिल नम्बर र क्याम्पस प्रशासनसँग रहेको मुचुल्काको सिल नम्बर मेल नखाएको बताए । “हामीले विरोध गर्दा प्रशासनले सानोतिनो विषय भनेर पन्छिन खोज्यो,” उनले भने ।
विद्यार्थी नेता मनोज साहले क्याम्पस प्रशासन र प्रहरीको मिलेमतोमा सत्ताधारी सङ्गठनको पक्षमा मतपरिणाम ल्याउन मतपेटिका परिवर्तन गरिएको आरोप लगाए । “क्याम्पस प्रमुख रञ्जित कुमार यादव र निर्वाचन अधिकृत दिलीप सिंह सत्ताधारी दलनिकट सङ्गठनलाई जिताउन लागेका छन्,” उनले भने, “हामीले मतगणना बहिष्कार गरेर बाहिरिएका छौँ ।”
त्यस्तै, विद्यार्थी नेता सुधीर पटेलले मतदानको राति उम्मेदवार र प्रतिनिधिहरूलाई षडयन्त्रपूर्वक बाहिर निकालेर मतपेटिका परिवर्तन गरिएको दाबी गरे । “यो निर्वाचन हामीलाई स्वीकार्य छैन,” उनले भने ।
विवादका बिच प्रहरीले मतगणना स्थल र क्याम्पस प्राङ्गणमा सञ्चारकर्मीहरूलाई प्रवेश गर्न रोक लगाएको छ । मतगणनाको रिपोर्टिङ गरिरहेका युथ्स अफ वीरगञ्जका पत्रकार सौरभ साहले प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्सालले आफूसहित अन्य सञ्चारकर्मीहरूलाई जबरजस्ती बाहिर निकालेको बताए । “विवाद हुनसक्ने बहाना बनाउँदै डिएसपी लम्सालले हामीलाई बाहिर निकाले,” साहले यात्रा डेलीलाई भने ।
मतगणना स्थगित हुनुअघिको पछिल्लो परिणामअनुसार नेपाल विद्यार्थी समूहका अध्यक्ष पदका उम्मेदवार राजकुमार यादव ४२० मतसहित अग्रस्थानमा थिए । नेपाल विद्यार्थी संघ (नेविसंघ) का विकास मण्डल धानुक २६१ मतसहित दोस्रो, समाजवादी विद्यार्थी युनियनका हरिकिशोर यादव २२१ मतसहित तेस्रो, सुधीर पटेल समूहका कमलेश कुमार यादव २०४ मतसहित चौथो र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का पवन यादव १५० मतसहित पाँचौँ स्थानमा थिए । कुल १०,७२९ मतदातामध्ये ४,२९९ जनाले मतदान गरेका थिए ।
मङ्गलवार शान्तिपूर्ण रूपमा सम्पन्न भएको मतदानपछि राति नै मतगणना सुरु गर्ने योजना थियो । तर, क्याम्पस प्रशासन र निर्वाचन समितिको ढिलाइले बुधवार साँझ ५:४५ बजे मात्र गणना थालिएको थियो । व्यवस्थापकीय कमजोरी र तयारी अभावका कारण बिहान ८ बजे सुरु हुने भनिएको मतदान पनि १० बजे मात्र सुरु भएको थियो । बिहीबार अबेर रातिसम्म मतगणना सकिने अनुमान गरिए पनि विवाद र प्रदर्शनका कारण प्रक्रिया थप लम्बिने देखिएको छ ।
सभापति पदमा १४ जना उम्मेदवारसहित कुल २१ पदका लागि २४७ जनाले प्रतिस्पर्धा गरेको निर्वाचनले ठाकुरराम क्याम्पसमा २०६५ पछि रिक्त विद्यार्थी नेतृत्व पूर्ति गर्ने अपेक्षा गरिएको छ ।