नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)सँग नेपाल समाजवादी पार्टी र नेपाः राष्ट्रिय पार्टी एकता गर्न सहमत भएका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटारस्थित निवासमा आज बसेको पार्टीको कार्यालय बैठकले एकताको निर्णय गरेको हो।
पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकले गङ्गानारायण श्रेष्ठ नेतृत्वको समाजवादी पार्टी र विजय सैँजु नेतृत्वको नेपाः राष्ट्रिय पार्टीसँग एकता गर्ने निर्णय लिएको जानकारी दिए। सोही निर्णयअनुसार आजै ती दुई पार्टी माओवादी केन्द्रमा समाहित हुनेछन्।
बैठकले सुदूरपश्चिम प्रदेशको बैतडीबाट सुरू भएको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान प्रभावकारी बनेको निष्कर्ष पनि निकालेको छ। गण्डकी प्रदेशको कास्कीमा पुगेर पहिलो चरणको अभियान सम्पन्न भएको बताउँदै प्रवक्ता सापकोटाले अब पोखराबाट पूर्वतर्फ अभियान सुरू हुने जानकारी दिए।
‘यो अभियान निकै नै प्रभावकारी भएको छ,’ सापकोटाले भने, ‘जनताको उपस्थिति र आकर्षण गुणात्मक रूपमा बढिरहेको छ। यस अभियानले राष्ट्रिय एकता, जनतन्त्र, जनजीविका तथा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा नयाँ सश्लेषण गर्ने मजबुत आधार तयार गरेको छ।’
त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा देखिएको ‘भिजिट भिसा’ प्रकरणमा गृह मन्त्रालयको संलग्नता देखिएको भन्दै माओवादी केन्द्रले स्वतन्त्र र निष्पक्ष छानबिनको माग गरेको छ।
‘स्वतन्त्र र निष्पक्ष छानबिनका लागि गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको छ,’ प्रवक्ता सापकोटाले स्पष्ट पारे।