पर्सामा अपराध नियन्त्रण गर्दै एसपी ढुंगेल, कुख्यात अपराधी पक्राउ
बिरगंज ,१२ मंसिर ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगेलले कार्यभार सम्हालेदेखि नै जिल्लामा अपराध नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेका छन्। अपराध नियन्त्रणका विशेषज्ञका रूपमा पहिचान बनाएका एसपी ढुंगेलले विभिन्न समयमा कुख्यात अपराधीलाई पक्राउ गरी समाजमा शान्ति सुरक्षाको अनुभूति गराएका छन्।
पर्सा प्रहरीले हालै अपहरण तथा फिरौती प्रकरणमा संलग्न एक कुख्यात अपराधी र एक उनका सहयोगिलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरूमा वीरगञ्ज महानगरपालिका-१६ इनर्वाका ३० वर्षीय सन्तोष दास तत्मा र नगवाका ३१ वर्षीय हरिशंकर शर्मा छन्। प्रहरीले उनीहरूलाई फिरौतीको रकम ५० हजार रुपैयाँ र दुईवटा मोटरसाइकलसहित पक्राउ गरेको हो।
प्रहरीका अनुसार, रौतहट कटहरिया नगरपालिका-६ का ४१ वर्षीय शेख सा महमदलाई अपहरण गरी फिरौती रकम माग गरेको आरोपमा अभियुक्तहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ गर्ने क्रममा प्रहरीले घटनामा प्रयोग भएका दुई मोटरसाइकल पनि बरामद गरेको छ, जसमा मधेश प्रदेश ०३–०२५ प ३९८० नम्बरको निलो पल्सर र बिआर ०५ एयु ९७४५ नम्बरको रातो कालो एनएस मोटरसाइकल रहेका छन्।
पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार, अभियुक्तहरूमाथि अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ।
सन्तोष दास तत्माको अपराध पृष्ठभूमि हेर्दा, उनी केही वर्षअघि अवैध हतियारको मुद्दामा ६ महिना जेल परेका थिए। साथै, वीरगञ्जका एक ट्रान्सपोर्ट म्यानेजरको हत्या र लागुऔषध व्यापारसम्बन्धी अपराधका कारण उनले विभिन्न समयमा जेल जीवन बिताएका थिए।
यस्ता कुख्यात अपराधीलाई पक्राउ गर्न पर्सा प्रहरीको सूचना संकलन तथा अपराध नियन्त्रण शाखाको विशेष टोलीले सक्रिय भूमिका खेलेको थियो। टोलीको कमान्ड प्रहरी वरिष्ठ नायब निरीक्षक रमेश बजगाईले गरेका थिए।
पर्सा प्रहरीको यस सफलताले जिल्लामा अमन चयन कायम गर्न थप मद्दत पुगेको छ। स्थानीयले पर्सा प्रहरीको कार्यको उच्च प्रशंसा गरेका छन्।