पर्सा : प्रतिबन्धित औषधिसहित युवक पक्राउ
पर्सा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित औषधिसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–२५ का २३ वर्षीय राज महम्मद देवान रहेका छन्।
प्रहरीका अनुसार विशेष सुराकीको आधारमा देवानलाई नियन्त्रणमा लिइएको हो। उनीसँग ठूलो मात्रामा प्रतिबन्धित औषधि फेला परेको बताइएको छ। प्रहरीले उनलाई नियन्त्रणमा लिएपछि औषधिको स्रोत, ओसारपसारका सञ्जाल र संभावित संलग्न व्यक्तिहरूको पहिचान गर्न थप अनुसन्धान अगाडि बढाएको छ।
यसअघि पनि पर्सा र आसपासका क्षेत्रमा प्रतिबन्धित औषधि ओसारपसार र कारोबारको क्रम बढ्दै गएको भन्दै प्रहरीले निगरानी बढाएको थियो। पक्राउ परेका देवानविरुद्ध लागू औषध नियन्त्रण ऐनअनुसार कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीले यस्ता गैरकानुनी क्रियाकलापमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन अभियान जारी राखेको जनाएको छ।