बिरगंज, २६ कार्तिक। एउटै नम्बर प्लेटका दुई भारतीय ट्रक फेला, भन्सार कार्यालयमा बुझाइयो
सशस्त्र प्रहरीले पर्सामा एउटै नम्बर प्लेट भएका दुईवटा भारतीय ट्रक फेला पारी वीरगंज भन्सार कार्यालयमा बुझाएको छ। कार्तिक २२ गते बिहान ९:३० बजे पर्साको एकीकृत भन्सार जाँच चौकी (आईसीपी) परिसरमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेडक्वार्टर, पर्साबाट खटिएको टोलीले युपी ४० टि ९४४० नम्बर प्लेट भएका दुईवटा भारतीय ट्रक नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी नायब निरीक्षक सबिन खड्काको कमान्डमा खटिएको चारजनाको टोलीले ती ट्रकहरू नियन्त्रणमा लिएको भए पनि दुवै ट्रकका चालक र सहचालक सम्पर्कमा नआएको जनाइएको छ।
ती दुई ट्रकमा भएको रु ५८ लाख बराबरको सामान र रु ७५ लाख मूल्यका ट्रकहरू गरी कुल रु १ करोड ३३ लाख बराबरको सम्पत्ति कार्तिक २६ गते वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी पर्साका प्रवक्ता डिएसपी विष्णुहरि घिमिरेले जानकारी दिएका छन्।